मन्त्रिपरिषद्का निर्णय : सरूवा, बढुवा र नियुक्तिमा केन्द्रित, बागमतीको प्रमुख सचिवमा कार्की खटिने



काठमाडौं,बैशाख ७ । वैशाख ६ गते बसेको मन्त्रीपरिषद् बैठक सचिवहरूको सरूवा, बढुवा र नियुक्तिमा केन्द्रित भएको छ । बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्द बहादुर कार्कीलाई खटाउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय भएको हो । बैठकले  नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बैकुण्ठ बहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ । 

त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री केदारनाथ शर्मालाई बढुवा गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारी प्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्