देशमा आएको आर्थिक मन्दीको मुख्य कारण नै सहकारी ठगी हो: प्रदीप पौडेल



काठमाडौं,बैशाख ७ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचारविरुद्ध सशक्तरुपमा आवाज निरन्तर उठाइरहने बताएका छन् ।

एक सञ्चारमाध्यमसग कुराकानी गर्दै नेता पौडेलले देशमा जति पनि भ्रष्टाचार र बेथिती बढिरहेका छन् यी सबैका विरुद्ध लडिरहेको र भ्रष्टाचारीहरु कारवाहीको दायरामा नआएसम्म निरन्तर लडिरहने बताए ।

अहिलेको ताजा सहकारी ठगी प्रकरणमा ज–जस्को नाम मुछिएको छ ती सबै व्यक्तिहरुलाई कानुनी कारवाहीको दायरामा ल्याइनुपर्ने र पीडितले क्षतीपुर्तीसहित न्याय पाउनुपर्ने नेता पौडेलको भनाइ रहेको छ । कुनै पनि वचतकर्ताको रकम हिनामिना हुन नहुने र सहकारी सञ्चालन गरेर रकम अपचलन गर्ने जो सुकैलाई पनि सरकारले उन्मुक्ति दिन नहुनेमा उनले जोड दिए ।

देशभरका ठगीमा मुछिएका सहकारीबारे छानविन हुनुपर्ने आफूहरुले उठाएको कुरामा कांग्रेससहित अन्य दलको पनि समर्थन बढिरहेकोले निष्पक्ष छानविन आयोग बनाउनबाट सरकार पछि हट्न नपाउने चेतावनी दिए । जनता सबैभन्दा धेरै जोडिएको संस्था भनेकै सहकारी भएकाले देशमा अहिले आएको आर्थिक मन्दीको मुख्य कारण नै सहकारीले गरेको ठगी भएको नेता पौडेलको दाबी छ ।

आर्थिक मन्दीको अवस्था अन्त्य गर्न, आर्थिक क्षेत्रलाई गतिशील बनाउनका लागि सहकारी अपचलन गर्नेहरुको खोजी गरेर कारवाही गर्न र वचतकर्ताहरुको रकम सुरक्षित गर्न आवश्यकता रहेको पनि उनले औल्याए ।

प्रतिक्रिया दिनुहोस्