हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो



हुम्ला,बैशाख ७ । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको पाँचदेखि ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको मूल्य एक सय बढीले घटेको जनाइएको छ । 

सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग वाणिज्य सङ्घले गरेको मूल्य निर्धारण गरेसँगै सम्पूर्ण व्यवसायीलाई मूल्य सूची वितरण गरिएको छ । सङ्घले वितरण गरेअनुसार नै मूल्य कार्यान्वयन गरिएको व्यवसायी बताउँछन् । सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान बिक्री नगर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार मासु जन्यपदार्थको वितरण तथा खुद्रा मूल्यसमेत निर्धारण गरिएको हो । 

व्यवसायीलाई दैनिक उपभोग्य वस्तुको मूल्य सूची बनाएर वितरण गरिएसँगै एकरुपता आउने विश्वास लिइएको भण्डारीले बताए । बोइलर कुखुराको मासु, माछा र बँगुरको मासु प्रतिकेजी सात सय, अण्डाप्रति गोटा ३०, प्रतिक्यारेट सात सय ५० र राँगाको मासु प्रतिकेजी सात सय ५० निर्धारण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । जिउँदो खसीको प्रतिकेजी छ सय ५०, खसीको मासु मिक्स प्रतिकेजी एक हजार र खसीको नेट मासुको एक हजार एक सय निर्धारण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्