प्युठानको झिमरुकमा जंगलको आगो बस्तीमा पस्दा ३ घर र ८ गोठ जलेर नष्ट

प्युठान,बैशाख ८ । जंगलमा लागेको आगो बस्तीमा पस्दा प्यूठानको झिमरुक गाउँपालिका-३ मा तीन वटा घर र आठ वटा गोठ जलेर नष्ट भएका छन् । गौमुखी गाउँपालिका – ७ नारीकोट भुमेथान नजिक लागेको आगो बस्तीमा पसेको हो ।
आगलागीमा परी झिमरुक–३ धनमुडाका स्थानीय बसन्त पौडेल, गिरु पौडेल र भिम पौडेलको घरमा क्षति भएको छ । आगलागीबाट घरमा भएका लत्ताकपडा, खाद्यान्न लगायत सामग्री पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
स्थानीय आहालखोला, स्याला, भेडावारी र बेओरेका बस्तीमा आगो पसेको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए । उनका अनुसार बस्तीमा पुगेको आगोबाट भेडावारी र बेओरोमा दुई/दुई वटा र धनमुडामा चार वटा गोठ जलेर नष्ट भएका छन् । केही भैँसी र बोकाहरु समेत आगोमा परेर जलेका छन् ।