नुवाकोट लिखु भेगका सामुदायिक विद्यालयका आ-आफ्नै बस, अभिभावक र विद्यार्थी दङ्ग



नुवाकोट,बैशाख १० । नुवाकोटको लिखु गाउँपालिकाका केहि विद्यालयले विद्यालयको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यातायात सेवा सञ्चालन  गरेपछि सामुदायिक विद्यालयका पनि आ-आफ्नै बस गुड्न थालेका छन् । लिखु स्थित थान्सिङ फाटका सडकमा निजी विद्यालयका जस्तै सामुदायिक विद्यालयका पनि बस गुड्ने गरेका हुन् । बस सञ्चालनले विद्यालयसम्मको आवागमन सहज तथा छिटो छरितो हुँदा विद्यार्थी र अभिभावक दंग परेका छन् ।

यहाँका केही सामुदायिक विद्यालयले स्थानीय स्तरमै सहयोग जुटाएर यसै वर्षदेखि विद्यालय बस सञ्चालन गरेका हुन् । तर, अन्य विद्यालयले आर्थिक व्यवस्थापन गर्न नसक्दा बस सञ्चालन गर्न सकेका छैनन् । लिखु गाउँपालिकाले आर्थिक वर्ष ८१/८२ मा विद्यालय बस खरिदको योजना बनाउने तयारी गरेपनि ठोस निर्णय भने लिन सकेको छैन ।

बस सञ्चालनले विद्याययसँग आफ्नो घरको भौतिक दूरी टाढा भएका विद्यार्थीलाई सहजता मात्र पुगेको छैन, अभिभावकले पनि ढुक्कसँग आफ्ना नानी बाबुहरुलाई सामुदायिक विद्यालय पठाएका छन् ।

आफूले रोजेको सरकारी विद्यालय टाढा हुँदा आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई बालबालिका विद्यालय पठाउन निकै समस्या परेको थियो । सामुदायिक विद्यालयमा निःशुल्क खाजा समेत पाइने र जान–आउन बस सुविधा भएसँगै विद्यार्थीको चाप बढेको प्रष्ट देखिन्छ । लिखु गाउँपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयहरु यहाँका निजी विद्यालयभन्दा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरमा अब्बल बन्दै गएका छन् । यहीँ कारण पनि अभिभावकलाई आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा पढाउन थप प्रोत्साहन मिलेको लिखु स्थित बच्छला माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष सन्तोष अधिकारीले बताए । हाल बच्छला माद्यामिक विद्यालयले अमिलबोटे हुँदै छहरे बजार सम्मका बालबालिका लाई बस सेवा सुविधा दिदै आएको छ । बस सेवा सुविधासंगै विद्यालयमा यस वर्ष ८० जना नयाँ विद्यार्थी भर्ना भएको अध्यक्ष अधिकारीले बताए ।

शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित जनज्ञान निकेतन माविको कक्षा ९ की छात्रा कुशुम भण्डारीले विद्यालयमा स्कुल बस भएकै कारण यहाँसम्म आफू पढ्न आएको बताइन् । ‘हिँडेर आउँदा एक घन्टाभन्दा बढी लाग्छ, साइकलमा हिँड्न सकिन्न । वर्षा, खाल्टाखुल्टी बाटो, धुलो छैन, राम्रो छ ।’ उनले भनिन्, ‘स्कुलको आफ्नै बस भएपछि आनन्द भएको छ ।’हाल जनज्ञान निकेतन विद्यालयले बुढिसेरा-छहरे थान्सिङ फाट हुँदै विद्यालय सम्म बस सञ्चालनमा ल्याएको छ ।

यता लिखुकै महेन्द्र महेशदेव माध्यमिक विद्यालयले पनि बालबालिकालाई यातायातको सुविधा यसै वर्षदेखि दिन थालेको छ । सो विद्यालयले छहरे बजार-थान्सिङ फाट हुँदै विद्यालय सम्म बस सुविधा दिएको छ । बस सुविधासंगै बालबालिका थप उत्साहित बनेको विद्यालयले जनाएको छ ।

सामुदायिक विद्यालयले यसरी बस संचालनका लागि विद्यार्थीहरुसँग न्यूनतम सञ्चालन खर्च लिने तयारी गरेको छ । अधिकांश विद्यालयले यसलाई अभिभावक विद्यार्थीको खर्च नबनाएर स्थानीय सरकारले सहयोगको रुपमा सम्बोधन गरिनुपर्ने तर्क राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्