नेपालीले ९ महीनामा झन्डै २ करोड रुपैयाँ बराबरको सिन्काले दाँत कोट्याए



काठमाडौं,बैशाख १२ । नेपालले चालू आर्थिक वर्षको ९ महीनामा झन्डै २ करोड रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात गरेको छ ।

नेपालले चालू आर्थिक वर्षको साउनदेखि चैत्रसम्ममा १ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात गरेको छ । उक्त मूल्यको ६० हजार ४२७ किलोग्राम सिन्का आयात गरेको भन्सार विभागको तथ्यांक छ ।

गत वर्षको सोही अवधिमा भने नेपालले ९० लाख १५ हजार रुपैयाँ बराबरको दात कोट्याउने सिन्का आयात गरेको थियो । उक्त मूल्यको २७ हजार ९९६ किलोग्राम सिन्का नेपाल भित्रिएको थियो । गत वर्षको उक्त अवधिको तुलनामा यो आवको सोही अवधिमा दात कोट्याउने सिन्का आयात मूल्यमा १११ प्रतिशतले बढेको छ भने आयात परिमाणमा ११५ प्रतिशतले बढेको छ ।

गत वर्ष उक्त अवधिमा सिन्का आयातमा सरकारले ३५ लाख ५९ हजार राजस्व संकलन गरेको थियो भने यो वर्ष ७७ लाख ९९ हजार राजस्व संकलन भएको छ । 

नेपालले चीन र भारतबाट दाँत कोट्याउने सिन्का आयात गर्ने गरेको छ । यो ९ महीनामा नेपालले चीनबाट १ करोड ९० लाख ६६ हजार रुपैयाँ बराबरको ६० हजार ३७६ किलोग्राम दाँत कोट्याउने सिन्का आयात गरेको छ । यस्तै भारतबाट ९ हजार रुपैयाँ बराबरको ५१ किलोग्राम दाँत कोट्याउने सिन्का आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्