प्रधानमन्त्री प्रचण्ड र अमिर शेखबिचको भेटवार्ता सम्पन्न



काठमाण्डौ,बैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । 

नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित मङ्गलबार काठमाडौँ आइपुगेका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा केन्द्रित भएको आचार्यले बताए ।

आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका शेखको स्वागतमा आज दिउँसो प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । कतारी अमिर शेख आज स्वदेश प्रस्थान गर्ने तालिका छ। 

प्रतिक्रिया दिनुहोस्