के छ? कतारका शेख र नेपालबीच भएको सहमतिमा



काठमाडौ,बैशाख १३  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच बिहिवार भेटवार्ता भएको छ ।  

भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

भेटवार्तापछि दुई देशबीचका सञ्चार, खेलकूद, विज्ञान प्रविधि, उद्योग वाणिज्यलगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशका संस्कृति र कलाको प्रवर्धन गर्ने विषयमा एउटा समझदारीभएको छ ।

कतार र नेपालका राष्ट्रिय समाचारसंस्थाहरूबीच समाचार आदानप्रदान र सहकार्यसम्बन्धी सम्झौता, शिक्षा तथा उच्चशिक्षा र वैज्ञानिक अनुसन्धानसम्बन्धी समझदारी, युवा र खेलकुद सहकार्यसम्बन्धी समझदारी, दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच सहकार्य गर्ने समझदारी,  नेपालको इन्स्टिट्यूट अफ फरेन अफेअर्स र कतारको कूटनीतिक निकायबीच कर्मचारीहरूलाई तालिम आदानप्रदान गर्ने विषयमा समझदारी लगायतका समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सरकारी स्तरमा भएका यीबाहेक दुई देशका निजी क्षेत्रबीच दुइटा सम्झौता भएका छन् । त्यसमा नेपालका तर्फबाट उद्योग वाणिज्य महासङ्घ र कतारका तर्फबाट त्यहाँको निजी क्षेत्रका व्यवसायीहरूको संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्