मानपुर–बुलिङटार सडकखण्ड कालोपत्र हुँदै



तनहुँ,बैशाख १३। तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र शुरू गरिएको छ । 

जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट शुरूगरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न लागिएको हो । उक्त सडकखण्डमा हालसम्म तीन किमी सडक कालोपत्र गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । 

पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ,’ प्रमुख आचार्यले भने, ‘सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ ।’ 

विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । विसं २०७७ मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम शुरू गरिएको थियो । रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो । 

विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य ढिलाइ भएको हो । जिल्लामा यस वर्ष पिसिसी, आरसिसी र कालोपत्र गरी २६ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्