लुम्बिनी र पोखरा उडान सञ्चालन गर्न कतारका अमिरसंग प्रधानमन्त्रीको आग्रह

काठमाडौं,बैशाख १३ । प्रधानमन्त्री प्रचण्डले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका हुन् ।
“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने।
नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समयको मागसँगै दुबै देशहरूबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिए ।