सार्वजनिक जग्गा अतिक्रमण, तथ्याङ्ककै अभाव



काठमाडौं,बैशाख १३ । देशभरका विभिन्न स्थानमा सार्वजनिक जग्गा कब्जा गरी पहुँचवालाले एकाधिकार जमाइरहँदा सरकारसँग भने मिचिएका सार्वजनिक जग्गाको यकिन विवरण नै छैन । केही स्थानीय तह आफैँले सार्वजनिक जग्गाको संरक्षण गरे पनि संरक्षण गरिएको जग्गाको यकिन विवरण सङ्घीय सरकारलाई नपठाउँदा संरक्षण भएका जग्गाको पनि अभिलेख एकीकृत हुन सकेको छैन । 

तीन महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख सात दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको थियो । मन्त्रालयले परिपत्र गरेपछि अहिलेसम्म तीन सय स्थानीय तहले मात्र विवरण मन्त्रालयमा पठाएका छन् भने अन्य स्थानीय तहले मन्त्रालयलाई विवरण नै पठाएका छैनन् । 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सङ्घीय सरकारले स्थानीय तहलाई सार्वजनिक जग्गाको विवरण पठाउन परिपत्र मात्र गरेर नहुने बताए । “कतिपय स्थानीय तहमा सार्वजनिक जग्गाको खोजी गरी अभिलेख राख्नका लागि नापी कार्यालय र मालपोत कार्यालयसँग समन्वय गर्नु पर्छ । स्थानीय तहसँग नापी र मालपोतका दक्ष जनशक्ति नहुँदा सार्वजनिक जग्गाको अभिलेख तयार गर्न कठिन भएको छ,” उनले भने।

स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिका वा नगरपालिकाको अधिकार क्षेत्रमा सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षासम्बन्धी व्यवस्था गरेको छ । मन्त्रालयले भने सार्वजनिक जग्गाको विवरण पठाएका स्थानीय तहको पनि विवरण व्यवस्थित रूपमा राख्न नसक्दा कुन प्रदेशमा कति सार्वजनिक जग्गा संरक्षण भएका छन् भन्ने यकिन तथ्याङ्क मन्त्रालयसँग छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले कतिपय स्थानीय तहले भने अझै पनि सार्वजनिक जग्गाको विवरण नपठाउँदा देशभर कति सार्वजनिक जग्गा छन् भन्ने यकिन विवरण तयार गर्न समय लागेको बताए । 

गृह मन्त्रालयले पनि गत फागुनमा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जिल्लाभित्रका सरकारी जग्गाको विवरण सङ्कलन गरी अभिलेख राख्न निर्देशन गरेको थियो । मन्त्रालयले कसैले आफ्नो नाममा सार्वजनिक जग्गा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको पाइए कानुनबमोजिम कारबाही अघि बढाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरेको थियो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्