हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार



कालिकोट,बैशाख २२ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ कि २० वर्षीया लक्ष्मी शाहीलाई सुत्केरी भएको १३ दिनपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

सुत्केरी भएदेखि लगातार शरीर सुनिँदै गएको र केही दिन यता रक्तस्राव पनि हुन थालेपछि लक्ष्मीलाई उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइएको थियो । जिल्ला अस्पतालमा पनि अक्सिजनको मात्रा बढाउन र रक्तस्राव रोक्न नसकिएपछि थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ । 

जिल्ला अस्पताल कालीकोटका डा. बन्दिता कार्कीले गाउँमै गत वैशाख ८ गते सुत्केरी भएकी लक्ष्मीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि शुक्रबार जिल्ला अस्पताल मान्म ल्याइए पनि सुधार हुन सक्ने अवस्था नभएपछि रिफर गरिएको जानकारी दिए । 

सुत्केरी शाहीको शरीरमा अक्सिजनको मात्रा न्यून भई स्वास्थ्य अवस्था जटिल देखिएपछि उहाँलाई हेलिकोप्टरबाट उद्धारगरी सुर्खेत लगिएको बिरामीसँगै गएकी डा. रोशनी प्रजापतिले बताए । 

प्रतिक्रिया दिनुहोस्