अब फार्मेसीमै औषधीको परीक्षण



काठमाडौं,बैशाख १३ । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो । 

औषधी पसलमै पुगेर औषधीको परीक्षण गरी सक्कली वा नक्कली भएको पुष्टि गर्न लागिएको यो पहिलो पटक हो । त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ । 

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भन्नुभयो, “बिक्री भइरहेका औषधी सक्कली वा नक्कली हो भन्ने पसलमै पत्ता लगाइने छ । नक्कली भएको पुष्टि भएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने छ ।”

यो नयाँ विधि होइन । भारत, बङ्गलादेशलगायतका मुलुकमा अभ्यास हुँदै आएको छ । मङ्गलबार वीर अस्पतालको फार्मेसीमा यसको परीक्षण गरिएको छ । उनका अनुसार परीक्षण गर्दा औषधीमा कुनै कैफियत फेला परेन । “औषधीको मात्रा ठिक छ छैन, गलत औषधी दिइएको छ कि लगायत पनि परीक्षणका क्रममा अनुगमन गरिने छ,” उनले भने, “अहिलेलाई काठमाडौँबाट यसको सुरुवात गरिए पनि क्रमशः देशव्यापी बनाइने छ ।” 

प्रतिक्रिया दिनुहोस्