‘फेक न्यूज’ उत्पादकलाई कारबाहीको माग



काठमाडौं,बैशाख १६ । नेपाल मिडिया सोसाइटीले ‘फेक न्यूज’ उत्पादकलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । एक युट्युब भिडियोले कलाविहीन फेक न्यूज उत्पादन गरेर नेपाली मिडिया जगत् र स्थापित मिडिया संस्थाका बारेमा भ्रम फैलाएको भन्दै संस्थाले समाचारका नाममा भ्रम फिजाउनेलाई नियमन तथा कारबाहीको माग गरेको हो ।

विश्वभर प्रविधिको चरम दुरुपयोग गरेर लोकतान्त्रिक संरचना र स्वतन्त्र मिडिया तथा न्यायपालिकामाथि आक्रमण गर्ने, जिम्मेवार नागरिक संस्थाहरूको बदनाम गरेर पछिल्लो समय अराजक र उत्तेजित भीडको शासन लाद्ने दूषित हावा चलिरहेको शनिवार संस्थाका अध्यक्ष शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसकै पछिल्लो घटनाको रूपमा शुक्रबार एक युट्युब भिडियोले भ्रामक सामग्री प्रसारण गरेको संस्थाले बताएको छ ।

अभिव्यक्ति स्वतन्त्रताका नाममा सामाजिक मूल्य, मान्यता र जिम्मेवारीलाई पूणर्तः बेवास्ता गरेर सोसल मिडियामा भइरहेको गालीगलौज, अल्पसंख्यक तथा महिलाद्वेषी दुर्भावाना र धार्मिक उन्माद जस्ता प्रवृत्ति बढ्दै गइरहेकोमा सोसाइटीले चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय नेपालमा भ्रष्टाचार विरुद्धका केही घटना तथा बेथिति र विकृतिको भण्डाफोरका सन्दर्भमा नेपाली जिम्मेवार मूल प्रवाहको मिडियाले अग्रणी भूमिका निर्वाह गर्दै आएकाले स्वार्थ समूह र राज्य संयन्त्रको दुरुपयोग गर्नेहरू अत्तालिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

‘एक अमुक युट्युब च्यानलमा नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बदनाम गर्ने कुत्सित उद्देश्यले कुनै तथ्य र प्रमाणविना आग्रहपूणर् अभिनय गरिएको घटनालाई कानूनको पालना गराउने निकायहरूले तत्काल कारबाही गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका गैरजिम्मेवार र नियोजित फेक खुराक उत्पादन गर्ने कारखानाहरू मिडिया हुन नसक्ने तथ्यलाई स्पष्ट गर्नु आवश्यक छ ।

यस्ता खालका फेक कारखानाका पछाडि र हेट स्पिचको वर्गमा पर्ने क्रियाकलाप तत्कालै कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछौं ।’

कुनै रिस साध्न वा अरूलाई पनि आफू जस्तै हो भन्ने भाष्य तयार गर्न कुनै अनलाइन वा सोसल मिडियाको दुरुपयोग हुनु आफैमा डरलाग्दो प्रवृत्ति रहेको संस्थाको बुझाइ छ । ‘यस्तो रवैयालाई समयमै नरोकिए भविष्यमा यस्ता घटनाले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने निश्चित रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्