निर्माण सामग्री अभावले पूर्वाधारका योजना प्रभावित



पर्वत,बैशाख १६ । निर्माण सामग्री अभावमा पर्वतमा सडक, खानेपानी र सिँचाइका सयौँ योजना प्रभावित बनेका छन् ।  संघीय सरकार र प्रदेश सरकार अन्तर्गतका ती योजना निर्माण सामग्री अभावले प्रभावित बनेका हुन् । 

ढुङ्गा, बालुवा, गिट्टीजस्ता नदीजन्य सामग्रीको अभावमा योजनाका काममा ढिलासुस्ती भएको हो । धेरैजसो योजना सामग्री अभावकै कारण सम्झौता अवधि सकिँदा समेत प्रगति न्यून छ । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले नदीजन्य निर्माण सामग्रीको अभावले थुप्रै योजना सम्पन्न हुन नसकेको बताए ।

नदीजन्य वस्तुका लागि पर्वतमा दुईओटा मुख्य स्रोत थिए । एउटा कालीगण्डकी र अर्को मोदीखोला । कालीगण्डकीबाट ढुङ्गा, बालुवा उत्खनन गर्न विगत तीन वर्षदेखि सर्वोच्च अदालतले रोक लगाएको छ । अर्कोतर्फ मोदीखोलाको अधिकांश भागमा जलविद्युत् आयोजना निर्माण भइरहेकले ढुङ्गा र बालुवा उत्खननमा समस्या छ । कास्की, तनहुँ, म्याग्दीलगायत जिल्लाबाट निर्माण सामग्री ढुवानी गरेर पर्वतका योजनाहरूमा प्रयोग गर्ने गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि सङ्घ र प्रदेशका गरी एक सय ५२ ओटा योजना कार्यान्वयनमा छन् । तीमध्ये ६६ ओटा योजना सम्पन्न भइसकेका छन् ।  संघीय सरकारका आठओटा ठूला योजना ठेक्का प्रक्रियामा रहेको उनले बताए । बाँकी योजनाहरूमा ग्राभेल, बेस, चिप्स अभाव हुँदा ठेकेदारहरूले समयमै सम्पन्न गर्न नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सामग्री अभावकै कारण पूर्वाधार कार्यालयको प्रगति न्यून देखिएको छ । आर्थिक वर्षको नौ महीनामा २१ प्रतिशत मात्र बजेट खर्च भएको छ । ठेकेदारले समयमै काम सम्पन्न नगर्दा भुक्तानी पाएका छैनन् । पूर्वाधारका मात्र नभई सिँचाइ, शहरी विकास तथा भवन डिभिजन कार्यालयका योजनाहरूमा पनि निर्माण सामग्रीको अभाव भएको निर्माण व्यावसायी शिव अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्