सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा वन्यजन्तु तस्कर तामाङ दोषी ठहर, सजाय तोक्न वैशाख २७ गते पेसी



काठमाडौं,बैशाख १७ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई दोषी ठहर गरेको छ । अध्यक्ष टेक नारायण कुँवर र सदस्यहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतवार तामाङलाई दोषी ठहर गर्दै सजाय तोक्न यही वैशाख २७ गतेका लागि पेसी तोकेको छ । 

‘कुन्जोक छिरिङ तामाङले वन्यजन्तुको अखेटोपहार ओसारपसारसमेत गरी गैरकानूनी आर्जन गरेको देखिन आयो । यस अवधिमा मिसिल सामेल सबुत प्रमाणबाट निजले जम्मा रु ७ करोड १४ लाख ७३ हजार ३८२.७ पैसा व्यय गरेको तर निजको रु ६ करोड ४७ लाख ७ हजार ९९४ मात्र वैध आय भएको पुष्टि हुन आएकाले रु ६७ लाख ६५ हजार ३८८.७ कसूरबाट आर्जित सम्पत्ति साबिक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ विपरित शुद्धीकरण गरेको देखिन आयो,’ फैसलामा भनिएको छ । 

उक्त कसूरमा साबिक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ को (क) बमोजिम निजलाई बिगोबमोजिम जरिवाना वा एक वर्षदेखि चार वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ । ‘तर, यस प्रकृतिको र परिणामको सजाय निर्धारण गर्नुअघि फौजदारी कसूर सजाय (निर्धारण तथा कार्यान्वयन) एने, २०६४ को दफा ८ र ९ बमोजिम छुट्टै सजाय निर्धारण गर्नुपर्ने हुँदा उक्त प्रयोजनको लागि मिति २०८१ वैशाख २७ मा पेसी तोकिएको,’ फैसलामा भनिएको छ ।

अदालतले आइतबार नै सम्पत्ति शुद्धीकरणको अर्काे मुद्दामा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद र २५ करोड ६९ लाखभन्दा बढी जरिवाना तोकेको छ ।  

प्रतिक्रिया दिनुहोस्