१७ औं नेपाल चीन आर्थिक तथा व्यापार मेला सोमवारबाट भृकुटीमण्डपमा शुरु



काठमाडौं,बैशाख १८ । १७ औं नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सोमवारबाट भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरे । 

नेपाल र तिब्बतमा हरेक दुई वर्षमा आलोपालो हुने गरेको मेला यसपटक नेपालमा भएको हो । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच सन् १९९० मा गरिएको सम्झौताअनुसार मेला हुने गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले बताए ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

मेलामा तिब्बतको तर्फबाट ५० स्टल रहने बताइएको छ, जसमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायशी प्रयोगका साधन, कार्पेट, पेय पदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धुप, द्विपांग्रे, तीन पांग्रे र चार पांग्रे विद्युतीय सवारी साधन, सौन्दर्य प्रशाधनलगायतका स्टल रहनेछन् । 

मेलामा नेपालको तर्फबाट १५ ओटा स्टल रहने छन्, जसमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकलारकाष्ठकला, धातुकला, कार्पेट, पश्मिनालगायतका उत्पादन प्रदर्शन गरिनेछन् । 

मेलाको अवसरमा दुई पक्षबीच बीटूबी, बीटूजी र जीटूजी लगायतका व्यावसायिक मिटिङ आयोजना हुने छन् । मेला बिहान १० देखि बेलुका ६ बजेसम्म चल्नेछ । मेलामा प्रवेश निःशुल्क गरिएको जनाइएको छ । मेला आगामी शुक्रवारसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्