अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना



काठमाडौं,बैशाख १९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन ।

उनले श्रमका विविध क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति सम्मान प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइने गरेको बताएकी छिन ।

श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षामा लाग्न  यस दिवसले प्रेरित गरेको उल्लेख गरेकी छिन । सन्देशमा उनले मुलुकको आर्थिक विकास प्रक्रियामा अहम् भूमिका खेल्ने श्रमिकहरूको योगदानलाई उजागर गर्दै ‘मर्यादित काम र श्रमिकको सम्मान’ गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्