पूजाआजा पश्चात् निर्माणस्थल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथको पांग्रा



काठमाडौं,बैशाख २१ । रातो मच्छिन्द्रनाथको नयाँ रथको पांग्रा रथ निर्माणस्थल पुल्चोक पुर्याइएको छ । 

ललितपुरस्थित बंगलामुखी मन्दिरनजिकैको गछेँ टोलका स्थानीयले पांग्राको विधिवत पूजा गरेपछि बाजागाजाका साथ गा हिटी, कोबहाल, मंगलबजार, महापाल, गाबहाल हुँदै पुल्चोक पुर्याइएको हो । 

हरेक १२ वर्षमा नयाँ पांग्रा फेर्नुपर्ने भएपनि गत वर्ष पांग्रा बिग्रिएकाले यस वर्ष नै नयाँ निर्माण गरिएको हो । बाराही समुदायका व्यक्तिले अघिल्लो श्रीपञ्चमीका दिन पांग्रा निर्माण गर्न शुरु गरेका थिए ।

रथको पांग्रा निर्माणका लागि सामदान जातको रुखको काठ प्रयोग गरिएको बताइएको छ । रथको चार पांग्रालाई हरिसिद्धि, लुप्तसंहार, टीकाभैरव र नन्दीकुन्द गरेर चार भैरवको प्रतीकको रूपमा लिने गरिन्छ । 

पांग्रालाई शुक्रवार विधिवतरूपमा रथमा राखिनेछ । त्यसपछि रथ निर्माण अगाडि बढ्नेछ । नेपालकै एक लामो जात्राको रूपमा ललितपुरको रातो मच्छिन्द्रनाथ (बुंगद्य)को जात्रा मनाइन्छ । वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहणपछि २९ गतेबाट रातो मच्छिन्द्रनाथको जात्रा शुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्