नुवाकोट पञ्चकन्यामा बनेको इलाका प्रहरी कार्यालय उद्घाटन



नुवाकोट,बैशाख २१। जिल्लाको पञ्चकन्यामा निर्माण भएको इलाका प्रहरी कार्यालय पञ्चकन्याको नवनिर्मित भवन उद्घाटन भएको छ ।

बिहीबार एक कार्यक्रम बीच बागमती प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायणले श्रेष्ठले सो भवनको उद्घाटन गरेका हुन् । विसं २०७८ चैत २० गते इलाका प्रहरी कार्यालयको स्थापना भएपनि अस्थायी रुपमा कामकाज सञ्चालन हुँदै आएको थियोे ।

गाउँपालिकाको अध्यक्षमा रमेश तामाङ पुनः दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि स्थायी भवन प्रक्रिया अगाडि बढेको थियोे । इलाका प्रहरी कार्यालय पञ्चकन्याको भवन निर्माणका लागि अध्यक्ष तामाङले निःशुल्क जग्गा दान समेत गरेका थिए ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले गाउँको विकास र सरकारी सेवा विद्युत् काउन्टर, बैंक, प्रहरी एकाइ गाउँमा ल्याउन आफैले जग्गा दिँदा केही गुमाए भन्दापनि गाउँको लागि धेरै उपलब्धि प्राप्त भयो भन्दै खुसी व्यक्त गरे ।

प्रहरी एकाइको शुभारम्भको अवसरमा मन्त्री श्रेष्ठले प्रहरीको लागि नयाँ भवनले मात्र सेवा सहज नहुने भन्दै आवश्यक जनशक्ति, सवारीसाधन, प्राविधिको उपयोगसहित समय अनुकुल तालिम प्राप्त प्रहरी जनशक्तिमार्फत सुरक्षा दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।

बागमती प्रदेससभाका सदस्य रमेश महतले पञ्चकन्या–२ मा लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरणको लागि कार्यालयमा राखिएको रु ५३ लाख हराएको चार वर्ष पूरा भए पनि घटनामा संलग्नको पहिचान नभएको भन्दै प्रहरी एकाइको स्थापनाले सुरक्षाको प्रत्याभूति बलियो हुने विश्वास व्यक्त गरे ।

प्रहरीको नयाँ एकाइ स्थापनासँगै निर्माण गरिएको तीन तले सुविधा सम्पन्न भवनले प्रहरीलाई सेवा दिन सहजता पुग्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले विश्वास व्यक्त गरे । बागमती प्रदेश सरकारबाट प्राप्त रु दुई करोड दुई लाख लगानीमा निर्माण गरिएको पक्की भवनमा कार्यालय, ब्यारेक, मेससहित आवश्यक संरचनाले भरिपूर्ण रहेका छन् । उक्त कार्यालयमा प्रहरी निरीक्षकको नेतृत्वमा चालिस जनाको दरबन्दी छ । जनशक्तिको अभावले हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा दशजना कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्