९ महीनामा वीरगञ्ज नाकाबाट साढे ४ खर्बको आयात, २३ अर्बको निर्यात



वीरगञ्ज,बैशाख २४ । मुख्य नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महीना साढे ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा निकासी भने २३ अर्ब रुपैयाँमा सीमित भएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको समीक्षा अवधिको तुलनामा आयात र निर्यात दुवै घटेको छ । आयात १४ दशमलव ६१ प्रतिशतले घट्दा निकासी व्यापारमा २१ दशमलव ८४ प्रतिशतले कमी आएको हो । 

अघिल्लो आवको चैत मसान्तसम्ममा ५ खर्ब २७ अर्ब रुपैयाँको आयात कारोबार भएको थियो । सो अवधिमा यो नाकाबाट २९ अर्ब रुपैयाँबराबरको मालसामान निकासी भएको थियो ।

भारतले प्रशोधित र अर्धप्रशोधित खानेतेलको आयातमा शून्य आयात शुल्कको नीति लिएपछि नेपालबाट तेल निकासी करीब ठप्प छ । यसको प्रभाव कुल निकासी परिमाणमा देखिएको भन्सारका अधिकारी बताउँछन् ।

यो नाकाबाट मुख्यरूपमा पेट्रोलियम पदार्थ, सवारीका साधन र औद्योगिक कच्चा पदार्थ भित्रिन्छन् । निकासीतर्फ खानेतेल, जुस, कपडा, धागो, पिनालगायतका वस्तु छन् । चालु वर्षमा आयात र निर्यात दुवै परिमाण खुम्चिएको भन्सारको तथ्यांकले देखाउँछ ।  

वीरगञ्ज नाकाबाट ४ खर्ब ७३ अर्ब रुपैयाँबराबरको कुल कारोबार हुँदा आयात निर्यात अन्तर (व्यापारघाटा) ४ खर्ब २७ अर्ब पुगेको छ । आयात निर्यात कारोबार घटेपछि व्यापारघाटामा अघिल्लो समीक्षा अवधिभन्दा १४ दशमलव १८ प्रतिशतले कमी आएको तथ्यांक छ । 

खुम्चियो राजस्व

आयात र निर्यात घटेपछि वीरगञ्ज भन्सारले उठाउँदै आएको राजस्व प्रभावित भएको छ । भन्सारले साउनदेखि चैत महीनासम्मको अवधिमा लक्ष्यको ६२ दशमलव ७३ प्रतिशतमात्र राजस्व उठाएको छ । १ खर्ब ८१ अर्ब रुपैयाँ लक्ष्य पाएको यो भन्सारले १ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको तथ्यांक भन्सारले सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस्