आफ्नो मातृभाषा सरकारी कामकाजी बनेपछि नेवार र तामाङ समुदायमा उल्लास, बाजागाजासहित निकालियो र्‍याली



काठमाडौं,बैशाख २५ । बागमती प्रदेशमा आफ्नो मातृभाषा सरकारी कामकाजी बनेपछि नेवार र तामाङ समुदायमा उल्लास छाएको छ । 

यही खुसीयालीमा दुवै समुदायका व्यक्तिहरूले सोमवार काठमाडौंमा संयुक्तरूपमा बाजागाजासहित र्‍याली निकालेका छन् । वसन्तपुरमा निस्किएको र्‍याली भित्री सहर हुँदै वसन्तपुरमै पुगेर समापन भएको थियो ।  

सरकारी कामकाजी भाषा ऐन, २०८० सोमबारबाट कार्यान्वयन भएसँगै नेपाल (नेवार) र तामाङ भाषा बागमती प्रदेशमा सरकारी काममाजी भाषा बनेको छ । 

गत असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने गत कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । 

राजपत्रमा प्रकाशित भएको एक सय ८०औं दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार वैशाख २४ अर्थात् २४ बैशाखदेखि ऐन कार्यान्वयन गरिन लागिएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाकारूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्