सञ्चालनमा आयो नेपालगन्ज एकीकृत जाँच चौकी



नेपालगञ्ज,बैशाख २५ । बाँकेको नेपालगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका बीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका हुन् । 

त्यसअवसरमा मन्त्री भण्डारीले जाँच चौकी स्थापनापछि राजस्व सङ्कलनमा वृद्धि र अवैध ओसारपसार नियन्त्रण र व्यापार पारवहनको क्षेत्रमा समेत उल्लेख्य योगदान पुग्ने बताए । उनले आन्तरिक राजस्व सङ्कलन हुननसकेको र व्यापारघाटा बढिरहेको अवस्थामा आयात तथा निर्यातमा समेत जाँच चौकी फलदायी हुने विश्वास व्यक्त गरे । 

मन्त्री भण्डारीले लक्ष्यको आधाहिस्सा पनि राजस्व उठ्न नसकेको भन्दै खुला सीमाबाट हुने वस्तुको आयातसमेत व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जाँच चौकी सञ्चालनपछि अन्तरराष्ट्रिय व्यापारमा वृद्धि हुनुका साथै अवैध क्रियाकलाप रोक्न सहयोग पुग्ने बताए । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जाँच चौकी स्थापनाले चौरीपैठारी रोकथाममा कडाइ हुने विश्वास व्यक्त गर्दै भारतबाट रु एक सयको सामान ल्याउनेहरूलाई भने सहजीकरण गर्नुपर्ने धारणा राखे । यस्तै, उद्योगसचिव कृष्णबहादुर रावत, भन्सार विभागका महानिर्देशक ढुण्डिराज निरौलालगायतले जाँच चौकी सञ्चालनबाट लाभ लिन आग्रह गरे । 

एकीकृत जाँच चौकीमा कुल आयाततर्फ दुई सय र निर्याततर्फ ७५ ट्रकका लागि पार्किङ क्षेत्र, भन्सार, अध्यागमन, क्वारेन्टिन, भन्सार सुरक्षा, अपरेटर कम्पनी, बैंक सञ्चालनलगायत कार्यका लागि भवन निर्माण गरिएका छन् । साथै मालवस्तु आयातको भण्डारणका लागि तीन गोदाम, एप्राइजल सेट, विद्युतीय सबस्टेशन, धर्मकाटालगायत महत्त्वपूर्ण पूर्वाधार निर्माण गरिएका छन् । 

करीब दुई सय करोड भारतीय रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जाँच चौकीको विसं २०८० जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । 

नेपाल भारतका चार सीमानाका विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगञ्जमा दुवैतर्फ समानरूपमा आईसीपी निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सन् २००५ अगष्ट ३ मा भएको समझदारीअनुरूप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकी निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । नेपालगञ्ज एकीकृत जाँच चौकीको निर्माण कार्य विसं २०७७ असोज २६ गते शुरू भई विसं २०८० फागुनमा सम्पन्न भएको हो । 

कुल ४५ दशमलव ८१ हेक्टर क्षेत्रफलमा फैलिएको जाँच चौकीमा पहिलो चरणमा १८ दशमलव शून्य पाँच हेक्टरमा संरचना निर्माण गरिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्