सुनकोशी मरिणको सुरुङ छिचोलियो, हिमालको पानी अब तराइको फाँट सम्म: प्रधानमन्त्री



काठमाडौँ,बैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल पग्लेर आएको पानी तराईका सुख्ख मैदानमा सिंचाइ गर्न बाटो खुलेको बताएका छन् । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने उनले बताए ।

त्यही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा समेत उपयोग गरेर राष्ट्रको समग्र विकास गर्ने उनले बताए । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ समारोहमा सहभागि भएका प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले यस आयोजना निर्माण सकिएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताए । उनले यो आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने बताए ।

बागमती प्रदेशमा बाँध बाँधेर मधेस प्रदेशको उर्वरभूमिमा सिँचाइ गर्ने योजना आफैँमा अति सुन्दर भएको उनले टिप्पणी गरे । उनले भने, ‘आज सुरूङको ब्रेक–थ्रु भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’

प्रधानमन्त्रीले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले सुरूङमार्गको ‘ब्रेक थ्रु’ हुँदा नयाँ ऊर्जा र प्रेरणा मिलेको बताए । यसबाट नेपालमा ठूला पूर्वाधार निर्माणमा उत्साह थपिएको उनको भनाइ थियो ।

कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड रहँदै आएको छ । देशमा समग्र कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान केही वर्ष अघिसम्म एक तिहाई हाराहारी थियो ।

पछिल्ला वर्षमा सेवा क्षेत्रको बृद्धि उच्च हुँदा कुल अर्थतन्त्रमा कृषिको हिस्सा खुम्चिए पनि अझै एक चौथाईभन्दा बढी हिस्सेदारी यही क्षेत्रको छ । यो आयोजना बनेपछि मधेश प्रदेशमा धान र अन्य अन्न तथा नगदे बालीको उत्पादनमा ब्यापक बृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीले खाद्यान्नमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए ।

सुनकोशीबाट ६७ घनमिटर पानी १३.३ किलोमिटर लामो सुरुङबाट मरिण खोलामा झार्ने योजना छ । मरिणको किनारमा निर्माण हुने विद्युत् गृहबाट ३१.०७ मेगावाट विजुली उत्पादन गर्ने र त्यो पानी मरिण खोलाहुँदै बागमती ब्यारेजमा पुर्याइने छ । त्यसपछि बागमती सिँचाइ आयोजनाको क्षेत्र विस्तार गरी १ लाख २२ हजार हेक्टरमा बाह्रै महिना सिँचाई गर्ने योजना छ ।

यस करीब ५० अर्ब लागत अनुमान गरिएको यो परियोजनाको बाँकी कामले खासै गति लिएको छैन । तर १३.३ किलोमिटर सुरुङ निर्माण भने सकिएको छ । सुरुङलाई अब पानी पठाउन योग्य बनाउन अर्को एकदेखि डेढ वर्ष समय लाग्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्