कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको शपथ



विराटनगर,बैशाख २७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

प्रदेश प्रमुख परशुराम खापुङले उनलाई पद तथा गोपनीयताको शपथ गराए । आम निर्वाचनपछिको १७ महिनामा कार्की तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन्  ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट उनले एक/एक जना मन्त्री नियुक्त गरेका हुन् । नेकपा (एमाले) संसदीय दलका उपनेता रामबहादुर मगर र नेकपा माओवादी केन्द्रका सांसद गणेशप्रसाद उप्रेती (सुशील) मन्त्री नियुक्त भएका हुन् । 

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ गराए । मन्त्रीको कार्यविभाजन भने गरिएको छैन। दुवै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिए । उनीहरूले यसअघि पनि विभिन्न समयमा कोशी प्रदेशको मन्त्रीको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन । 

प्रतिक्रिया दिनुहोस्