आज अक्षयतृतीया : जौको सातु र सर्बत खाएर मनाइँदै



काठमाडौं,बैशाख २८ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षयतृतीया । जौको सातु र सर्बत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्बत पानी खाएर अक्षयतृतीया मनाउने गरिन्छ ।

महादेव र पार्वतीको विवाह भएको दिनका रुपमा पनि अक्षयतृतीयालाई लिने गरिन्छ । अक्षय भनेको कहिल्यै नाश नहुने भन्ने अर्थ लाग्छ । यस तिथिमा गरेका कर्महरुको फल नाश नभईं दिगो रुपमा प्राप्त हुने भएकाले यस तिथिलाई अक्षय तृतीया भन्ने गरिन्छ । यो युग आरम्भ हुने तिथि पनि हो ।

महाभारतको लडाइँसँगै द्वापर युग सकिएको दिनका रुपमा पनि यस दिनको सम्झना गरिन्छ । सत्य र त्रेता युगको आदि दिवस अर्थात् प्रारम्भ दिवसको रुपमा पनि यस दिनलाई लिने गरिन्छ । भगवान श्रीविष्णुले नरनारायण, हयग्रीव तथा परशुरामको अवतारसमेत यसै दिन भएको शास्त्रमा वर्णन गरेको पाइन्छ ।

भगवान विष्णुको चरणबाट महादेवको मस्तक हुँदै गङ्गा धरतीमा आएको दिनका रुपमा पनि आजको दिनलाई लिने गरिन्छ । वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेतायुगको सुरुवात भएको मानिन्छ । यही दिन भगवान परशुराम अवतारको जन्म भएको विश्वासमा परशुराम जयन्तीको रूपमा पनि आजको दिनलाई मनाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्