‘नेपालको सुन्दरता विश्वमा चिनाउने रहर’



काठमाडौं,बैशाख २९ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइलगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरमसँगको सहकार्यमा शुक्रवार गोकर्ण हाउस झम्सिखेलमा कार्यक्रम भएको हो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष सागर श्रेष्ठले चिनियाँ फोटोग्राफरसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको बताए ।कार्यक्रमको अवसरमा उनले सु छुइ लगायत फोटोग्राफरसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव समेत गरेका छन् । 

त्यस्तै चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइले आफु पहिलो पटक २००८ मा नेपाल घुम्न आएको र अहिलेसम्म ३० पटक भन्दा धेरै नेपाल घुमिसकेको अनुभव सुनाए । ‘मलाई संसारभर घुमौं, फोटो खिचौं भन्ने लागेको थियो, जब म नेपाल आएँ, नेपाल नै विश्व लाग्यो र अझै ४०/५० पटक नेपाल आइरहन मन लागेको छ,’ उनले भने, ‘नेपाल खासै ठूलो छैन । तर, यहाँको कला संस्कृतिमा धेरै भिन्नता छ र नेपालीको बानी व्यवहारले हामीलाई तान्छ। मेरो बाँकी जीवन नेपालको धार्मिक र पर्यटकीय क्षेत्रको फोटो खिच्न पाउँ भन्ने इच्छा छ।’ नेपालको सुन्दरता चीनसँगै विश्वमा चिनाउने आफ्नो रहर रहेकोसमेत उनले बताए ।

कार्यक्रममा एनएफपीजे नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले कार्यक्रमले नेपाल र चीनका फोटोग्राफरबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याउने भन्दै आगामी दिनमा दुइ देशबीच हुने सहकार्यले सम्बन्ध अझ मजबुत बनाउने अवसर मिल्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘फोटोग्राफर सु छुइले खिचेका नेपालका उत्कृष्ट १०० तस्वीर र नेपालका फोटोपत्रकारले खिचेका उत्कृष्ट तस्वीर चाइनाको कुनै शहरमा प्रदर्शनीमा राख्न सके नेपालमा पर्यटन प्रवर्द्धनका लागि थप टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु।’ 

कार्यक्रममा नेपाल चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा. कल्याण शर्माले भाषा सहजीकरण गरेका थिए । कार्यक्रममा चीनबाट आएका फोटोग्राफरलाई खादा र नेपाली टोपीले सम्मान गरिएको थियो भने दुई देशको तर्फबाट एक अर्कालाई मायाको चिनोस्वरुप पुस्तक आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्