सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध ४० करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा



काठमाडौं,बैशाख ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल तथा वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नविन कुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीका सीईओ अकबर हुसेनविरुद्ध आइतवार आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । 

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरीदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरीदसम्बन्धी प्रचलित कानुनबमोजिम नगरी भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (क), (घ) र (च) बमोजिमको कसुर भएको ठहर गर्दै उनीहरूलाई कैद र बिगोबमोजिम ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ असूल गर्न मागदाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्