जसपा नेपाल सरकारबाट बाहिरियो, यादव र कार्कीले दिए राजिनामा
काठमाडौं,बैशाख ३१ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनु भएको छ। यादवले केहीबेर अगाडी प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा बुझाएका हुन् ।
यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । यादव र कार्कीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर फर्किएको यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।
मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादव र कार्कीले राजीनामा दिएका हुन् ।
जसपा नेपालमा विभाजन आएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो भने हिजो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको थियो ।

