कर बढ्ने आशंकामा विद्युतीय सवारी भित्र्याउन होड



काठमाडौं,जेठ १  । नेपालका उत्तरी नाका रसुवागढी र तातोपानी नाकामा हाल विद्युतीय चारपांग्रे गाडीहरूको ताँती लागेको छ । 

जेठ १५ गते पेश हुने आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटबाट कर बढ्ने डरले पछिल्लो समय चारपांग्रे, दुईपांग्रे विद्युतीय गाडीहरू ल्याउने क्रम तीव्र रूपमा बढेको आशंका सरकारी अधिकारीहरूले  गरेका छन् । 

उच्च करका दर रहेको पेट्रोलियमबाट चल्ने सवारीसाधनको तुलनामा कम कर रहेको विद्युतीय सवारीसाधनको आयात व्यापक बढेकाले सरकारलाई सवारीसाधनको आयातबाट आउने राजस्व घटेको छ ।

सवारीसाधन र त्यसका पार्टपुर्जा आयातबाट आव २०७८/७९ मा ९० अर्ब रुपैयाँसम्म राजस्व संकलन गरेको सरकारले गत आव २०७९/८० मा ३३ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांक छ । चालू आव २०८०/८१ को प्रथम ९ महीनामा पनि ३९ अर्ब ८९ करोड राजस्व संकलन भएको विभागको तथ्यांक छ । 

यसरी राजस्वको मुख्य स्रोतमध्ये एक रहेको सवारीसाधन आयातबाट राजस्व व्यापक घटेपछि विद्युतीय सवारी आयातकर्ता नयाँ बजेटबाट कर बढ्न सक्ने आशंका गरिरहेका छन् । 

‘विद्युतीय सवारीसाधनको आयात बढेको र पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनको आयात घटेकाले राजस्वमा परेको असरका कारण केही न केही तहमा राजस्व बढ्ला कि भन्ने मलाई पनि लाग्छ,’ ओमोडा–५ विद्युतीय गाडीको विक्रेता एसपीजी अटोमोबाइलका एक प्रतिनिधीले भने ।

आयातकर्ताको यस्तो आशंकाबीच बढ्दो विद्युतीय सवारीसाधनको भन्सार छुटाउन उत्तरी भन्सार कार्यालयहरू व्यस्त हुनुपरेको छ । विद्युतीय सवारीसाधन उत्पादन तथा निर्यातमा संसारलाई उछिनेको चीनबाट नेपालमा पनि सबैभन्दा धेरै विद्युतीय सवारी आयात हुन्छ ।

‘दिनको ५०/६० ओटाका दरले त्यस्ता गाडी भित्रिएको छ,’ तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले अभियानसँग भने । ‘चैतमा ४१६ विद्युतीय गाडी आएकोमा वैशाख महीनामा ६ सयभन्दा बढी गाडी आएका छन् ।’ 

उनका अनुसार शनिवार मात्रै ७० ओटा गाडी उक्त नाका हुँदै भित्रिएका छन् । गतवर्ष जम्मा २१९ ओटा गाडी मात्रै यस नाकाबाट भित्रिएका थिए । ‘बढ्दो विद्युतीय सवारीसाधन आयातले नाकामा सामान ढुवानीमा प्रयोग गरिएका अरू गाडीलाई समेत डिस्टर्ब गरेको छ भन्ने बुझिएको छ,’ केसीले भने । ‘शनिवारसम्म यो वर्षमा १ हजार १३६ ओटा गाडी आएका छन् ।’

केसीका अनुसार चालू वर्षमा विद्युतीय सवारी उच्च मात्रामा आयात भएकाले तातोपानी भन्सारको राजस्वमा महत्त्वपूर्ण योगदान रहेको छ । ‘तातोपानी भन्सारले सबैभन्दा बढी विद्युतीय गाडीहरूबाट राजस्व संकलन गरिरहेको छ, यो वर्ष यसैको योगदान बढी हुनेछ,’ उनले भने ।

बजेटमार्फत आर्थिक ऐनबाट नीतिगत परिवर्तन हुन्छ कि भन्ने हिसाबले हतारिएर आयातकर्ताले विद्युतीय गाडीहरू ठूलो संख्यामा भित्त्याएको हुन सक्ने भन्सार अधिकारीहरूको बुझाइ छ ।

त्यसैगरी रसुवागढी नाकाबाट पनि विद्युतीय गाडीहरूको आयात बढेको छ । दैनिक रूपमा बीवाईडीको कार, जोए लङ् माइक्रोबस, किङ लङ् माइक्रो इलेक्ट्रोनिक बस, भ्यान भित्रिने क्रम उच्च रहेको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद पाठकले बताए । उनका अनुसार दैनिक ५० ओटा त्यस्ता गाडी रसुवागढी भन्सारबाट प्रवेश हुने गरेका छन् । 

रसुवागढी भन्सार कार्यालयका अनुसार चालू आव २०८०/८१ को आइतवारसम्म रसुवागढीबाट ३ हजार ९८१ विद्युतीय चारपांग्रे गाडी भित्रिएका छन् । यसबाट ४ अर्ब १९ करोड ८८ लाख राजस्व संकलन गरिएको छ । सोही नाका हुँदै गत आव २०७९/८० मा २ हजार ७३ ओटा गाडी भित्रिएका थिए जसबाट १ अर्ब १३ करोड ५५ लाख राजस्व संकलन भएको थियो । ‘राजस्वको लक्ष्य ठूलो राखिएकाले अझै भेट्न सकिएको छैन, यद्यपि विद्युतीय सवारीहरूको राजस्वमा योगदान उच्च नै छ,’ पाठकले कुराकानीमा भने ।

उत्तरी नाका चीनबाट विद्युतीय गाडी नेपालमा ठूलो संख्यामा भित्रिरहँदा प्रमुख नाका वीरगञ्ज, भैरहवाबाट भने त्यस्ता गाडी आउन सकेका छैनन् । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले यो वर्ष १ सयको हाराहारीमा मात्रै विद्युतीय गाडीहरू भित्रिएको हुनसक्ने बताउँछन् । ‘भारतबाट विद्युतीय गाडीहरू कमै आयात भएको देखिन्छ,’ उनले भने ।

भन्सार विभागका अनुसार चालू आव २०८०/८१ को ९ महीनामा चारपांग्रे विद्युतीय सवारीसाधनमात्रै ७ हजार ९३ युनिट आयात भएको छ । गतवर्ष २०७९/८० मा भने चारपांग्रे सवारीसाधन २ हजार ४५१ युनिट आयात भएको थियो । 

विद्युतीय गाडी आयातकर्ता भने विद्युतीय गाडीको व्यापक विस्तार गर्ने सरकारी नीति रहेकाले त्यसका लागि पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनको भन्दा कम कर राख्नु जरुरी रहेको बताउँछन् । नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सहमतिअनुसार सन् २०२५ मा पूरा सवारीसाधन विक्रीको २५ प्रतिशत र चारपांग्रे सार्वजनिक सवारीसाधन विक्रीको २० प्रतिशत विद्युतीय सवारी पुर्‍याउने लक्ष्य लिएको छ ।

सन् २०३० भित्र भने सवारीसाधन विक्रीको ९० प्रतिशत र चारपांग्रे सार्वजनिक सवारीसाधन विक्रीको ६० प्रतिशत विद्युतीय सवारी पुर्‍याउने लक्ष्य लिएको छ ।

विद्युतीय गाडीमा दिएको कर छूटको सुविधाबाट सरकारले ठूलो राजस्व गुमाइरहेको तर त्यसको लाभ सवारीसाधन खरीद गर्न सक्ने क्षमता भएका धनीले उठाइरहेको कतिपय आर्थिक विज्ञहरूले बताउँदै आएका छन् ।

विद्युतीय सवारी धेरै भित्रिएर सवारीसाधन आयातबाट प्राप्त हुने कर घटे पनि पेट्रोलियम पदार्थ आयात घटेर व्यापारघाटा घटेको पनि हेर्नुपर्ने नाडा अटोमोबाइल डिलर एशोसिएशनका विद्युतीय सवारीसाधन समितिका सदस्य प्रगुण राजभण्डारी बताउँछन् ।

सरकारले कम क्षमताका विद्युतीय गाडीमा ठूलो कर छूटको सुविधा दिएको छ । ५० किलोवाटसम्मका विद्युतीय सवारीमा भन्सार महशुल १० प्रतिशत मात्रै छ । ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा भन्सार महशुल १५ प्रतिशत मात्रै छ । यो वर्गको विद्युतीय

सवारीसाधनमा अन्त:शुल्क १० प्रतिशत रहेको छ । त्यस्तै सयदेखि २ सय किलोवाटसम्मका विद्युतीय सवारीमा भन्सार २० प्रतिशत र अन्त:शुल्क २० प्रतिशत रहेको छ । २ सय किलोवाटदेखि ३ सय किलोवाटसम्मका सवारीमा ४० प्रतिशत भन्सार दर रहेको छ । 

सरकारले १९ खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहँदा राजस्वको स्रोत पनि बढाउन जरुरी रहेको छ । यसका लागि सरकारलाई राजस्वको स्रोत बढाउनुपर्ने चुनौती छ । यसका कारण विद्युतीय सवारीमा करको दर बढ्ने आशंका गरिएको हो ।

राजस्व परामर्श समितिले पनि विद्युतीय गाडीको करको दर पुनरवलोकन गर्न सरकारलाई सुझाव दिने तयारी गरेको छ । विद्युतीय गाडीको भन्सार दर तिनीहरूको क्षमताका आधारमा तलमाथि रहेकाले आवश्यक समायोजन गर्न सुझाव दिने तयारी रहेको राजस्व परामर्श समितिका एक सदस्यले आर्थिक अभियानलाई बताए । 

‘विद्यमान असमान भन्सार महशुल दरलाई परिवर्तन गर्न सुझाव दिने तयारी छ,’ राजस्व परामर्श समितिका ती अधिकारीले भने, ‘असमान दरले राजस्वमा अपूरणीय क्षति पुगेको हाम्रो ठम्याइ हो ।’ आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्