भारतीय कम्पनी एनएचपीसी र ग्रीड कम्पनीबीच पश्चिम सेतीबाट उत्पादन हुने विद्युत् प्रसारणमा भयो सम्झौता



काठमाडौं,जेठ १ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रसारण लाइन प्रयोग गर्ने सम्झौता भएको छ। 

नेपाल सरकारले प्रसारण लाइन निर्माणका लागि खडा गरेको ग्रीड कम्पनीले बनाउने प्रसारण लाइनबाट बिजुली लैजान सोमवार सम्झौता भएको हो । सम्झौताअनुसार एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रीड कम्पनीले बनाउने प्रसारण लाइन प्रयोग गरी भारत लगिनेछ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइसचिव सुशीलचन्द्र तिवारीको उपस्थितमा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र प्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयू भएको छ। पश्चिम सेती ७५० मेगावाट  क्षमता भएको आयोजना हो। सोही आयोजना नजिकैबाट ग्रीड कम्पनीले प्रसारण लाइन बनाइरहेको छ। 

यसअघि ग्रीड कम्पनीले आफ्नै प्रसारण लाइनबाट बिजुली भारत लैजान प्रस्ताव गरे पनि एनएचपीसीले डेडिकेटेड छुट्टै प्रसारणलाइन बनाउने घोषणा गरेको थियो। अहिले भने एनएचपीसीले ग्रीड कम्पनीकै प्रसारण लाइनमा ह्वीलीङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता गरेको हो। 

एनएचपीसीका नेपाल प्रमुख सन्दीप मित्तलले ग्रिड कम्पनीको प्रसारण लाइन प्रयोग गरेबापत ह्वीलीङ चार्ज दिएर बिजुली लैजाने सम्झौता गरेको बताए। पश्चिम सेतीसँगै एसआर ६ र फुकोट कर्णाली समेत एनएचपीसीले निर्माण गर्न लागेको उनले जानकारी दिए । ग्रीड कम्पनीसँगको सम्झौताले बिजुली भारतीय बजारमा लैजान सहज हुने उनको भनाइ छ । 

एनएचपीसीले उत्पादन गर्ने बिजुली पश्चिम सेती करिडोर ४०० केभी प्रसारण लाइनको वनलेक सबस्टेसनमा जोडिने ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र प्रसाद ज्ञवाली बताए । भारतीय बैंक एक्जीम बैंकको ऋणमार्फत निर्माण हुने प्रसारण लाइनमा २० बिलियन नेपाली रुपैयाँ लगानी हुने उनले बताए । पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा छन्।

एनएचपीसीले दोधारा–बरेली ४०० केभी प्रसारण लाइनमार्फत भारत बिजुली लैजानेछ। 

२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिने गरी सम्झौता भएको थियो । दुई वर्षभित्र कम्पनीले विस्तृत अध्ययन प्रतिवेदन बुझाइसक्नुपर्नेछ। 

प्रतिक्रिया दिनुहोस्