घरजग्गा पास अनलाइनबाट



काठमाडौं,जेठ २ । सरकारले सबै नगरपालिकामा घरजग्गा नक्सा पास गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने भएको छ । आगामी आवदेखि पाइलट प्रोजेक्टका रूपमा काठमाडौं महानगरपालिका र ललितपुर उप–महानगरपालिका क्षेत्रभित्र अनलाइन प्रविधिबाट नक्सा पासको काम थालिने र क्रमश: सबै नगरपालिकामा लागू गरिने शहरी विकास मन्त्रालयकी इञ्जिनीयर तिमिला वज्राचार्यले अभियानलाई बताइन् । ‘यसका लागि सफ्टवेयर निर्माण कार्य भइरहेको छ,’ उनले भनिन्, ‘मुलुकभरका ५८ ओटै नगरपालिकामा यो प्रणालीबाट नक्सा पासको काम गर्ने सरकारको लक्ष्य छ ।’

सरकारले यूएनडीपीको सहयोगमा सफ्टवेयर निर्माण गरिरहेको छ । यसअन्तर्गत पुराना नक्सा अनलाइनमा अद्यावधिक गर्ने र नयाँ पास गर्नेलाई अनिवार्य रूपमा सोही प्रणालीमार्फत गराइनेछ ।

अनलाइन प्रणालीमा काम हुन थालेपछि राजस्व चुहावट पूर्ण रूपमा रोकिने उनको भनाइ थियो । ‘यसले तथ्यांक सङ्कलनका साथै पारदर्शितामा सघाउ पुर्‍याउनेछ,’ उनले भनिन् । नक्सा पास अनलाइनमा आइसकेपछि शहरी विकासमा लगानी गर्न समेत सहज हुनेछ । नगरपालिकामा पुराना तथ्यांक अद्यावधिक नहुँदा सडक, भवन आचारसंहिता कार्यान्वयनमा समस्या हुँदै आएको छ ।

विकसित मुलुकमा इण्टरनेट पहुँचले यो काम अनलाइनबाटै हुँदै आएको छ । अनलाइन तथ्यांक राखिएपछि कर्मचारीले कार्यालयबाटै भवन आचारसंहिता पालना गरे–नगरेको अनुगमन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्