सर्लाहीमा भएको दुर्घटनामा एकको मृत्यु, छ घाइते



सर्लाही,जेठ २ । सर्लाहीमा मङ्गलबार राति तीन फरक स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका–२, पर्ती बजार नजिक रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । ज १ त ५१९० नम्बरको ट्याक्टरमा दक्षिणतर्फबाट आइरहेको प्रदेश–२–०३–०२१ प ११६८ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका २९ वर्षीय सन्जित कुमार साहको घटनास्थलमै मृत्यु भएको हो । 

अगाडिबाट आएको स्कारपियो गाडीको बत्तीका कारण मोटरसाइकल चालक साहले राम्रोसँग आँखा नदेख्दा ट्याक्टरमा गएर ठोक्किएको हुनसक्ने आशङ्का गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका साह केही दिनअघि मात्रै छुट्टीमा घर आएका थिए । 

यस्तै जिल्लाको बरहथवा नगरपालिका–१४, लालदियरमा बा ४० प ८९९५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । दुर्घटनामा साइकल यात्री बरहथवा–१४, का ५५ वर्षीय हरिनारायण महतो, उनको नाति दुई वर्षीय आकाश महतो, मोटरसाइकल चालक बरहथवा नगरपालिका–१२, बस्ने २१ वर्षीय रुपचन राम र पछाडि सवार २४ वर्षीय शिवेक कुमार महतो घाइते भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्