कश्मीरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार, दुई जना पक्राउ

काठमाडौं,जेठ २ । भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मीर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो। नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मीर पुयाएर बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो।
कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितको गुनासो छ।
मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरी दिल्ली लगिएको थियो।
झन्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, जम्मुकश्मीर पुलिस, क्राइम ब्रान्च, सिआरपिएफको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्याइएको हो। घटनामा आबद्ध दुई जना अभियुक्तलाई पनि पक्राउ गरिएको बताइएको छ।