चाँदी आयात खुकुलो पार्ने राष्ट्र बैंकको घोषणा



काठमाडौं,जेठ ४ । नेपाल राष्ट्र बैंकले स्वदेशमा खपत गर्ने प्रयोजनका लाग चाँदी आयातको कोटा बढाउने भएको छ । अहिले एक पटकमा ६० हजार रुपैयाँसम्मको मात्रै चाँदी आयात गर्न पाइने प्रावधान छ ।

अब यो सीमालाई बढाउने तयारी भएको राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख तुल्सीप्रसाद घिमिरेले जानकारी दिए ।

‘अहिले पनि चाँदी आयात गरेर विभिन्न वस्तु बनाइ निर्यात गर्ने कुरामा समस्या छैन । तर देशभित्रै खपत हुने चाँदीको हकमा कोटा बढाउनु पर्ने भनेर राज्यका निकाय र सम्बन्धित व्यावसायिक संघसंस्थाको सुझाव आएको छ’, उनले भने ।

अहिलेको सीमाले चाँदी आयातको लागत बढेको र पर्याप्त आयात गर्न नसकिएको गुनासो आएपछि राष्ट्र बैंकले कोटा बढाउन लागेको हो ।

पछिल्लो समय चाँदीको मूल्यमा पनि ठूलो परिवर्तन आइसकेको र राष्ट्र बैंक सँग विदेशी मुद्राको ढुकुटी पनि निकै ठूलो भएका कारण अब चाँदी आयातलाई खुकुलो पार्ने प्रबन्धमा केन्द्रिय बैंक लागेको देखिएको छ ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ‘चाँदी आयात तथा विक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने छ’ भनेको छ ।

प्रतिक्रिया दिनुहोस्