काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु



काठमाडौं,जेठ ७ । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । सोमबार बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।

काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।”

उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, आज बागमती, कोषी तथा मधेश प्रदेशका एक दुई स्थानमा रातीभारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्