नुवाकोट दुप्चेश्वरका छेवाङ लामा अनलाइन ठगीको आरोपमा पक्राउ



नुवाकोट,जेठ ७ । अनलाइनमार्फत ठगी गरेको आरोपमा नुवाकोटका एक जनासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय छेवाङ लामा रहेका छन् ।

यस्तै पक्राउ पर्ने अन्यमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, र सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स् एप, इन्टाग्रामलगायतमा साथी बनाई कुराकानी गरी विश्वास दिलाउने र विभिन्न सामानहरु गिफ्ट पठाइदिएको छु भन्सार शुल्क भन्दै रकम हाल्न लगाएर ठगी गरेको खुलेको छ ।

अनालइनमा लगानी गर्दा रकम दोब्बरले बढ्ने भन्दै आश्वासन दिँदै रकम हाल्न लगाएर पनि ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । यो समूहले अहिलेसम्म १६ लाख ५९ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्