एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित
बाँके,जेठ ७ । पार्टी नेतृत्वको रोजाइमा परेका नेतालाई पराजित गर्दै नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । सोमबार घोषणा गरिएको मतगणना अनुसार निरक गुरुङले दुई सय ९१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी डिल्ली बिसीले एक सय ५४ मत पाए । जितपछि नवनिर्वाचन अध्यक्ष गुरुङले पार्टीलाई एक ढिक्का भएर अगाडी लैजाने बताएका छन् ।
उनले भने, ‘‘निर्वाचन प्रक्रिया सकिएपछि सबै कुरा सकियो । अब सबै साथीहरूलाई एक जुट बनाएर पार्टीलाई बलियो बनाउने दिशामा केन्द्रित हुन्छु ।’’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलको समर्थन रहेका डिल्ली बिसी निर्वाचन अघि बलियो उम्मेदवारको रूपमा प्रस्तुत भएका थिए । अध्यक्ष पदको त्रिकोणात्मक प्रतिस्पर्धा हुने करिब पक्का जस्तै भैसकेको थियो । तर अन्तिम समयमा आएर वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्नो उम्मेदवारी फिर्ता लिदैं गुरुङलाई समर्थन गरे । जसले निर्वाचनको परिणामलाई गुरुङको पक्षमा पारिदियो ।

