लैंगिक हिंसाविरुद्धको प्रतिकार्यका लागि सुदृढीकरणका आयोजना



काठमाडौं,जेठ ९। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले मंगलवार संयुक्त रूपमा लैंगिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरण आयोजनाको शुभारम्भ गरेका छन् ।

यस त्रिवर्षीय आयोजनाले कोशी र लुम्बिनी प्रदेशका ६ ओटा नगरपालिकामा कानूनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायता जस्ता लैंगिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवा उपलब्ध गराउने बताइएको छ । आयोजनाले लैंगिक हिंसा पीडित करीब ४९ हजार महिला तथा बालिकालाई लाभान्वित गराउने लक्ष्य राखिएको छ ।

यस आयोजनाका लागि स्टेट एण्ड पिसबिल्डिङ ट्रष्ट फन्ड (राज्य तथा शान्ति निर्माण कोष)ले ४६ लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको छ । यस आयोजनाको कार्यान्वयन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा गरिने बताइएको छ । आयोजनाले संस्थागत संरचना र क्षमता सुदृढ गर्नुका साथै सेवाको पहुँच र गुणस्तर सुधारमा ध्यान केन्द्रित गरी लैंगिक हिंसाविरुद्धका नवीनतम उपायसम्बन्धी नमूना कार्यक्रम सञ्चालन गर्नेछ ।

विशेषगरी अति दुर्गम र पुग्न कठिन क्षेत्रमा लैंगिक हिंसाविरुद्धका सेवामा तत्काल पहुँच प्राप्त गर्न, हिंसाको उजुरी गर्न र यसका लागि सहयोग माग्न महिला तथा बालिकालाई आयोजनाले सशक्तीकरण गर्ने बताइएको छ । नेपाल सरकार र विश्व बैंकबीच यस आयोजनाका लागि २०८१ वैशाख १२ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्