झापामा ब्राउन सुगरसहित चार जना पक्राउ
झापा,जेठ ९ । झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। मेचीनगरबाट तीन पुरुष र कचनकवलबाट एक महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मेचीनगर-६ पुरानो मेची पुल हुँदै भारतको पानीट्यांकीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका-५ का २६ वर्षीय समीर मगर र उर्लाबारी-२ का २७ वर्षीय सुजन कार्कीलाई ब्राउन सुगरसहित मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट १२ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। त्यस्तै मेचीनगर-६ पुरानो मेची पुल हुँदै भारतको पानीट्यांकीबाट सिटी सफारीमा आउँदै गरेको दमक-९ का २७ वर्षीय आशिष खडरियालाई ५ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको छ।

