जेठ १३ गते कांग्रेसले काठमाडौँमा प्रदर्शन गर्ने



काठमाडौं,जेठ ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। 

पार्टीको बुधवार सानेपास्थित मुख्यालयमा बसेको पार्टी केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले यही जेठ १३ गते अपराह्न दिनको २ बजे काठमाडौँको प्रर्दशनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो। 

पार्टीको काठमाडौँ जिल्ला कार्य समितिको आयोजनामा हुने सो प्रदर्शनमा सहभागी हुन पार्टीको भ्रातृ सङ्गठन र सिङ्गो पार्टी पङ्क्तिलाई उपस्थित हुन बैठकले आह्वान गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

कांग्रेसले संसदीय प्रक्रियालाई मिचेर गलत ढङ्गले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको विरोध र पीडितको पक्ष र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न सो विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्न लागिएको पनि उनले बताए ।

नेपाली कांग्रेसले सरकारले प्रतिशोध साँधेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको जिकिर गर्दै त्यसप्रति निन्दा र भर्त्सना पनि गरेको छ। 

प्रतिक्रिया दिनुहोस्