५ प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम हुने



काठमाडौं,जेठ १० । चालू आर्थिक वर्षमा देशका ५ ओटा प्रदेशको कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम हुने अनुमान गरिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार चालू आवमा बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै र मधेश प्रदेशको सबैभन्दा थोरै रहने प्रक्षेपण गरिएको छ । गत आवमा पनि बागमती प्रदेशको सबैभन्दा धेरै र मधेश प्रदेशको सबैभन्दा थोरै रहने संशोधित अनुमान गरिएको छ।

चालू आवमा बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ४८४ डलर रहने अनुमान गरिएको छ । यस्तै, गण्डकी प्रदेशको १ हजार ५५७, कोशी प्रदेशको १ हजार ३३६, लुम्बिनी प्रदेशको १ हजार १५९, सुदुरपश्चिम प्रदेशको १ हजार १११, कर्णाली प्रदेशको १ हजार ६६ र मधेश प्रदेशको ८९२ डलर हुने प्रक्षेपण गरिएको छ । यीमध्ये बागमती र गण्डकीबाहेकका प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम छ । 

चालू आवका लागि राष्ट्रिय प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ४३४ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्