रामग्राम स्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : मन्त्री तामाङ



नवलपरासी,जेठ १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले रामग्राम स्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुद्धजयन्तीको अवसर पारेर बिहीबार पश्चिम नवलपरासीस्थित रामग्राम स्तूपको अवलोकन गर्दै मन्त्री तामाङले रामग्राम स्तूप क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना मन्त्रिपरिषदमा स्वीकृत गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्राम स्तूप क्षेत्रको वि.सं.२०७८ सालमा गुरुयोजना बनाइएको थियो । लुम्बिनी मात्रै नभएर बुद्धसँग जोडिएका सबै स्थलको विकास र प्रचार प्रसार हुन सके दीर्घकालीनरुपमा यस क्षेत्रको विकास हुन सक्ने मन्त्री तामाङको भनाइ थियो । बुद्धसँग जोडिएका ऐतिहासिकस्थलको विकासका लागि तीनै तहका सरकारबिच सहकार्य जरुरी रहेकामा मन्त्री तामाङको जोड थियो । 

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले सङ्घीय सरकारले बुद्धसँग जोडिएका प्रदेशका समग्रस्थलको विकासलाई प्राथमिकतामा राख्नुपर्ने र त्यसमा पहलका लागि मन्त्री तामाङलाई आग्रह गरे । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले रामग्राम स्तूपको विकासका लागि सङ्घ, प्रदेश सरकार र लुम्बिनी विकास कोष संयुक्तरुपमा अगाडि बढ्नुपर्ने बताए । उनले लुम्बिनी विकास कोषले निर्माण गरेका ऐनहरू बाझिएकाले काम गर्न कठिनाइ भएकोसमेत बताए  ।

प्रतिक्रिया दिनुहोस्