राष्ट्रिय वाणिज्य बैंकका सिइओ खनालले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं,जेठ ११ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सिइओ खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम खनाललाई सिइओमा नियुक्ति गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ । नागरिक तथा सबै सरोकारवालाले पाउने हिस्सा वृद्धि हुने गरि काम गर्ने उनले बताए ।

चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत रहेका थिए । २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्