भियतनामको अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु



हनोई,जेठ १२ । भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर (छ फिट पाँच इन्च) चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

भियतनाम समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो । आगो निभाउन एक घन्टा लागेको थियो । 

छिमेकी गुयेन थान ट्रुङले आफू सुतिरहेका बेला विस्फोटको आवाज सुनेको र हेर्न बाहिर निस्केको बताए । “मैले घरमा झटका महसुस गर्न सक्थेँ” उनले भने । आगलागीको समयमा उक्त भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्नेगरी २४ जना रहेको सञ्चारमाध्यमले बताएको छ । घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोई ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ । 

सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मरम्मत गर्न ग्यारेजका रूपम प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो । पछि प्रहरीले गल्लीलाई घेरा हालेको थियो । अपार्टमेन्टमा जलेका मोटरसाइकल र रुखहरू जलेका अवशेष तथा छरिएका सामानहरू थिए । 

प्रतिक्रिया दिनुहोस्