‘स्रोतसाधनको उपलब्धताका आधारमा योजना छनोट गरिनुपर्छ’



काक्रेविहार,सुर्खेत,जेठ १३ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने योजनाका विषयमा डोल्पाका जनप्रतिनिधिसँग छलफल गरेका छन्।

उनले शनिबार डोल्पाका सबै पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमखलगायत सरोकार भएकाहरूसँग बजेटमा समेटनुपर्ने विषयवस्तुका विषयमा छलफल गरेका हुन । त्यसक्रममा मन्त्री शाहीले अघिल्ला आर्थिक वर्षका सिकाइ, अनुभव र कमजोरीहरूलाई ध्यानमा राखी समग्र प्रदेशको विकासमा योगदान गर्ने गरी सरकारले बजेट ल्याउने बताए।

उनले स्थानीय तहले पनि स्रोतसाधनको उपलब्धता र जनतालाई अत्यावश्यक योजनामा बजेट विनियोजन गर्न आग्रह गरे । पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधि र दोस्रो चरणमा १० जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूसँग छलफल गरेर बजेट निर्माणमा थप अपनत्व सिर्जना गर्न आफूले प्रयास गर्नेसमेत उनले प्रतिवद्धता व्यक्त गरे ।

छलफलमा जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकाय, मुडकेचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही, ठुली भेरी नगरपालिकाका प्रमुख श्वबर्णकुमार बुढा, शे—फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङलगायतले स्थानीय तहको स्रोतसाधन र बजेटले जनआकाङ्क्षा पूरा गर्न नसक्ने भन्दै प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । उनिहरूले शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा पर्याप्त बजेट व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारले कर्णालीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

छलफलमा सहभागी नागरिक समाजका प्रतिनिधिहरूले समेत व्यक्तिको पहुँच र आवश्यकताभन्दा समग्र क्षेत्रको आवश्यकता, सामूहिकरूपमा भोगिरहेका समस्या समाधानका लागि योजना छनोट र बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्