भद्रपुर नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन



भद्रपुर (झापा),जेठ १३ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व  संकलन गरेको छ ।नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा रु एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व  संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए । उनका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले रु तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ राजस्व  संकलन गरेको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच करोड ५० लाख राजस्व  संकलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व  संकलन गरेको हो । “राजस्व  संकलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व  संकलनको लक्ष्य सहजै भेट्न सकिन्छ,” सूचना अधिकारी पोख्रेलले भने ।

 पूँजीगत खर्च घट्यो

भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा रु ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ खर्च गरेको छ । नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पूँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ । भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पूँजीगत तर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ । चालुतर्फ ६३ दशमलव ०२ प्रतिशत खर्च भएको नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित रु ९८ करोड २३ लाख ४६ हजार रहेको छ । चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पूँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ । गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्