महानगरको फुटपाथ बढाउने कार्यमा सडक डिभिजनले लगायो रोक, स्थानीय पनि विरोधमा



काठमाडौं,जेठ १४ । न्यूरोड जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडकमा फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको योजनामा सडक डिभिजन कार्यालय बाधक बनेको छ । 

फुटपाथ बढाउन सडक खन्न थालिएपछि सडक डिभिजन कार्यालय, मीनभवनले गत शनिवार प्रेस विज्ञप्ति जारी गरेर उक्त कार्यमा रोक लगाएको हो ।

‘आज मिति २०८१ जेठ १२ गते शनिवार करीब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिना अनुमति सडक काटी सडकको स्ट्यान्डर्ड चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ । 

उक्त सडकमा फुटपाथ बढाउने योजनाको स्थानीयले विरोध गरेका छन् । फुटपाथको क्षेत्र बढाउँदा सडक साँघुरो हुने भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

उक्त सडकमा पैदलयात्रीलाई सहज र सुविधायुक्त फुटपाथ निर्माण गर्न, फुटपाथमा हरियाली लगायतका सौन्दर्यीकरणका कार्य सञ्चालन गर्न महानगरले उक्त योजना अघि बढाएको जनाएको छ । उक्त योजना महानगरको नीति तथा कार्यक्रममा पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्