विद्युत् आयात घट्यो, निर्यात बढ्यो



काठमाडौं,जेठ १४ । उत्पादन वृद्धि भएसँगै देशमा विद्युत् आयात घटेको छ भने निर्यात बढ्दै गएको छ । 

अर्थ मन्त्रालयले आइतवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म भारततर्फ १ हजार ४७५ गिगावाट घण्टा बराबरको विद्युत् निर्यात भएको छ भने ९२८ गिगावाट घण्टा विद्युत् आयात भएको छ ।

गत आर्थिक वर्षमा भारतबाट १ हजार ८५४ गिगावाट घण्टा विद्युत् आयात भएको थियो भने १ हजार ३३२ गिगावाट घण्टा विद्युत् निर्यात भएको थियो ।

विद्युत् उत्पादनमा वृद्धि हुँदै गएसँगै ऊर्जा उपलब्धता सहज हुँदै गएको छ । पछिल्लो अवधिमा विद्युत् आयातमाथिको निर्भरता कम भएको छ भने खुद विद्युत् निर्यात बढ्दै गएको छ । 

२०८१ असारसम्म ५७ विद्युत् आयोजना सम्पन्न भई ८११ मेगावाट थप जलविद्युत् उत्पादन हुने अनुमान छ । आगामी आर्थिक वर्ष हाल निर्माणाधीन ५३ आयोजना सम्पन्न भई ९४०.८ मेगावाट थप जलविद्युत् उत्पादन हुने अनुमान छ । 

२०८० फागुनसम्म प्रसारणतर्फ ७ र वितरणतर्फ ४ गरी ११ सबस्टेशनको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् । २०७९ फागुनसम्म प्रसारण र वितरण गरी ७ सबस्टेशन सञ्चालनमा थिए । त्यसैगरी, १३२ केभीका २ प्रसारण लाइन (५६ सर्किट किलोमिटर) तथा २२० केभीका ३ प्रसारण लाइन (५३५ सर्किट किलोमिटर) विस्तार भएका छन् । 

ग्रिड सबस्टेशनको क्षमता ८ हजार ६३.६ मेगाभोल्ट एम्पियरबाट ११ हजार २९७ मेगाभोल्ट एम्पियर पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्