जापानमा एक जोडी खरबुजा ३० लाखमा विक्री



जापान,जेठ १४ । होक्काइडोको युबारीमा फलेको एक जोडी युबारी खरबुजा ३० लाख येनमा विक्री भएको छ । शुक्रवार लिलामीमा राखिएको खरबुजा ३० लाख येनमा विक्री भएको हो । जापानमा यो फललाई प्रतिष्ठाको प्रतीक पनि मानिन्छ ।

होक्काइडो ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार साप्पोरो सिटी सेन्ट्रल होलसेल मार्केटमा बिहान ७ बजेदेखि लिलामी भएको हो । उक्त खरबुजा होकुयुप्याक कम्पनीले किनेकाे हाे । उक्त कम्पनीले युबरीमा खरबुजा प्याकेजिङ र विक्री गर्दछ ।

होकुयुप्याकका अध्यक्षका अनुसार पहिलो २०० ग्राहकलाई आगामी जुन १ र २ मा कम्पनीको कार्यालयमा युबरी खरबुजा निःशुल्क वितरण गरिनेछ ।

युबरी नगर कृषि सहकारी संस्थाका अनुसार यस वर्ष ८९ जना खरबुजा उत्पादकले कुल ३ हजार २ सय १९ टन खरबुजा निर्यात गर्ने अनुमान गरिएको छ । 

सन् २०१९ मा लिलामीमा एक जोडी युबरी खरबुजा अहिलेसम्मकै सर्वाधिक ५० लाख येनमा विक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्